सर्लाहीमा लाखौं मूल्यको सामानसहित चार मोटरसाइकल नियन्त्रणमा

सर्लाहीः सर्लाही प्रहरीले भन्सार छलि गरेर अवैध रूपमा नेपाल भित्र्याइएका कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले पर्सा गाउँपालिका क्षेत्रमा गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका मोटरसाइकलहरू जाँच गर्दा तस्करीको सामान फेला पारेको हो ।
प्रहरीलाई देख्ने बित्तिकै मोटरसाइकलमा सवार व्यक्तिहरू सामानसहितका सवारी साधन त्यहीँ छाडेर फरार भएका थिए ।
घटनास्थलबाट प्रहरीले कपडा, किराना सामान तथा बीआर ३० एच २६२८, बीआर ३० एफ ३०८७, बीआर ३० एच ०५३५ र बीआर ३३ जी ३१७५ भारतीय नम्बर प्लेटका चार वटा मोटरसाइकल बरामद गरेको छ । बरामद सामान र मोटरसाइकलको कुल अनुमानित मूल्य ६ लाख ७२ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
साथै बरामद सामग्री आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिएका छन् ।





