बारामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

सिमराः जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।
विभागले सूचना जारी गर्दै यो मौसमी प्रणाली बुधबार साँझ करिब ६ बजेदेखि सुरु भई बिहीबार बिहान ८ बजेसम्म सक्रिय रहने जनाएको हो ।
विशेषगरी सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेश प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ ।

यसका साथै मेघगर्जन, चट्याङ र असिनासहित वर्षा गराउने यो मौसमी प्रणाली पश्चिमबाट क्रमशः पूर्वतिर सर्दै जाने देखिएकाले देशका धेरै ठाउँहरूमा यसको प्रभाव पर्ने देखिन्छ ।
हावाहुरीले धनजनको क्षति पुर्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागले सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन विशेष आग्रह गरेको छ ।





