कोटेशन अन्त्य गर्दै जीतपुरसिमराले सूचनामार्फत माग्यो दररेट, खरिद प्रक्रिया पारदर्शी बनाउने प्रयास

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी र प्रतिस्पर्धामूलक बनाउन मंगलबार सार्वजनिक सूचनामार्फत दररेट आह्वान गरेको छ ।
पालिकाले पहिलो पटक खुला सूचना जारी गर्दै सूचीकृत निर्माण व्यवसायी, फर्म तथा कम्पनीहरूसँग विभिन्न विकास आयोजनाका लागि दरखास्त मागेको हो ।
यसअघि सीमित रूपमा तीन वटा संस्थामार्फत कोटेशन प्रक्रियाबाट काम हुँदै आएकोमा अब उक्त अभ्यास अन्त्य गर्दै खुला प्रतिस्पर्धालाई प्राथमिकता दिइएको उपमहानगरले जनाएको छ । उपमहानगरका खरिद शाखा प्रमुख तथा प्रशासकीय अधिकृत रमेश सुवेदीका अनुसार यो कदमले निर्माण कार्यमा गुणस्तर वृद्धि र लागत नियन्त्रणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद नियमावली, २०६४ अनुसार सात दिने सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत १० लाख मुनिका ११ वटा विकास आयोजना तथा कम्प्युटर र स्क्यानर खरिदका लागि दररेट माग गरेको हो । इच्छुक व्यवसायीहरूले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित दरखास्त पेश गर्नुपर्नेछ ।
सूचनामा सडक ढलान, नाला निर्माण, ग्राभेल, नदी संरक्षण तथा क्याम्पस क्षेत्र सुधार जस्ता पूर्वाधारसँग सम्बन्धित आयोजनाहरू समावेश गरिएको छ । ती आयोजनाका लागि अनुमानित लागत र विनियोजित बजेटसमेत सार्वजनिक गरिएकाले प्रक्रिया अझ पारदर्शी बनेको देखिन्छ ।
स्थानीयवासीहरूले कोटेशन प्रक्रियाको अन्त्य गरी खुला प्रतिस्पर्धामार्फत खरिद प्रक्रिया अघि बढाउने निर्णयलाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूले यसबाट पारदर्शिता बढ्ने र गुणस्तरीय काम हुने अपेक्षा गरेका छन् ।





