अतिक्रमित सरकारी जग्गा पहिचान गर्न र स्वीकृति लिएर मात्र हटाउन गृहको निर्देशन


eShilalekh

१७ बैशाख २०८३, बिहीबार २०:०६

सिमराः गृह मन्त्रालयले बारासहित देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अतिक्रमणमा रहेका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गर्न र स्वीकृति लिएर मात्र हटाउन र्देशन दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत कृष्ण देवकोटाका अनुसार सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र पठाउँदै यस्तो निर्देशन दिइएको हो। परिपत्रमा जिल्लाभित्र रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरेर गृह मन्त्रालयमा पठाउन भनिएको छ ।

मन्त्रालयले योजना स्वीकृत गरेपछि अतिक्रमण हटाउने कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन समेत निर्देशन दिएको छ। यस कार्यमा सम्बन्धित निकायबीच समन्वय र सहकार्य गर्न पनि जोड दिइएको छ ।

‘जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी ती जग्गामा भएको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी मन्त्रालयमा पठाउने र मन्त्रालयको स्वीकृति पश्चात् अतिक्रमण हटाउने कार्यका लागि यथोचित सुरक्षा प्रबन्ध तथा आवश्यक सहजीकरण गर्न अनुरोध छ’ परिपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्