बुबाको हत्या गरी फरार रहेका व्यक्ति १८ वर्षपछि पक्राउ

रौतहटः आफ्नै बुबाको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले १८ वर्षपछि चितवनबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका १ (साबिक जयनगर गाविस ४) का ४९ वर्षीय राम विलास महतो रहेका छन् ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार महतोलाई लामो समयदेखि लुकिछिपी बस्दै आएको अवस्थामा चितवनबाट पक्राउ गरिएको हो ।
२०६४ जेठ २० गते राति साबिक जयनगर गाविस ४ स्थित गोठघरमा ६५ वर्षीय विश्वेश्वर महतो कोइरीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानले हत्याको मुख्य कारण ऋण तथा जग्गा विवाद रहेको देखाएको छ । राम विलासले गाउँका विभिन्न व्यक्तिसँग ऋण लिएका थिए भने जग्गा खिचोला सम्बन्धी मुद्दा अदालतमा विचाराधीन थियो ।
मुद्दाको खर्च जुटाउन नसकेपछि उनले आफ्नै बुबाको हत्या गरी विपक्षीहरूलाई ज्यान मुद्दामा फसाउने योजना बनाएको प्रहरीले जनाएको छ । विपक्षीहरू जेल परे ऋण तिर्नु नपर्ने र जग्गा विवाद पनि समाधान हुने उनको योजना रहेको अनुसन्धानबाट खुलेको छ ।
घटनापछि शंका लाग्ने डरले उनी सपरिवार फरार भएका थिए । प्रहरीको निरन्तर खोजतलासपछि उनलाई २०८३ वैशाख १६ गते चितवनबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका महतोमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।





