साना किसान सहकारीद्वारा मृतक सदस्यका परिवारलाई बीमा रकम हस्तान्तरण


eShilalekh

१८ बैशाख २०८३, शुक्रबार १३:३३

सिमराः साना किसान कृषि सहकारी संस्था सिमराले सञ्चालन गर्दै आएको बीमा कार्यक्रमअन्तर्गत एक सदस्यको निधनपछि परिवारलाई राहतस्वरूप तिन लाख रुपैयाँ प्रदान गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जस्थित अन्तरसमूह नं. ५ अन्तर्गत समूह नं. १३५ की सदस्य गोमा माया राईको असामयिक निधनपछि परिवारलाई म्यादि जीवन बीमा योजनामार्फत उक्त रकम हस्तान्तरण गरेको हो ।

वडा नं. २१ का अध्यक्ष सुबास श्रेष्ठले मृतकका परिवारजनलाई रकम हस्तान्तरण गर्दै सहकारी संस्थाले सञ्चालन गरेका यस्ता सामाजिक सुरक्षा कार्यक्रमहरूले सदस्यहरूको जीवनस्तर उकास्न र आकस्मिक अवस्थामा आर्थिक सहारा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सहकारीको यस्तो पहलले समुदायमा आपसी सहयोग र भरोसा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि सहकारी संस्थाले सदस्यहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए । सहकारीका पदाधिकारीहरूले दिवंगत गोमा माया राईलाई एक अनुशासित, सक्रिय र जिम्मेवार सदस्यका रूपमा स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको संस्थाकी अध्यक्ष कमला अधिकारीले जानकारी दिइन् ।

साथै संस्थाले आगामी दिनमा पनि सदस्यहरूको सुरक्षा र कल्याणका लागि यस्ता बीमा तथा सामाजिक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

कार्यक्रममा अध्यक्ष, सहजकर्ता कुलोत्तम पोख्रेल, व्यवस्थापन टोली, कर्मचारी, अन्तरसमूहका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा मृतकका आफन्तहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्