धनुषामा १३७ किलो गाँजासहित दुई जना पक्राउ

धनुषा: जिल्ला प्रहरी कार्यालय धनुषाले ठूलो परिमाणको अवैध लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी गणेशबहादुर बमको कमान्डमा खटिएको प्रहरी टोलीले धनुषाको मुसहर्निया गाउँपालिका ६ स्थित लक्ष्मिनियाँ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।
शुक्रबार बिहान शंकास्पद गतिविधि गरिरहेको अवस्थामा फेला परेका उनीहरूको खानतलासी गर्दा ५ वटा बोरामा प्याक गरिएको अवस्थामा कुल १३७ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही स्थानका २६ वर्षीय गणेश कुमार यादव र २४ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन्। प्रहरीले घटनास्थलबाट गाँजा ओसारपसारमा प्रयोग गरिएको बीआर ३२ डी ५८८२ नम्बरको भारतीय मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरी आफ्नो नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।





