सामुदायिक विद्यालय सुधारमा जीतपुरसिमराको नयाँ पहल, शिक्षकसहित ६ सय जनालाई उत्प्रेरणा


eShilalekh

२० बैशाख २०८३, आईतवार १९:३९

सिमराः सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यसहित जीतपुरसिमरा उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि शिक्षक लक्षित उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा कर्मचारीलाई एकै स्थानमा भेला गराएर आइतबार कार्यक्रम आयोजना गरेको हो । अमलेखगञ्जमा आयोजित कार्यक्रममा ६ सयभन्दा बढी सहभागी रहेका थिए ।

हालै सार्वजनिक कक्षा ८ को परीक्षाफलले सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर देखाएपछि चौतर्फी आलोचना भइरहेको अवस्थामा उपमहानगरले सुधारका लागि यो पहल गरेको हो । राज्यको ठूलो लगानी हुँदाहुँदै पनि सामुदायिक विद्यालयको नतिजा निजी विद्यालयभन्दा कमजोर देखिएपछि कार्यक्रम आयोजना गरिएको नगर प्रमुख राजन पौडेलले बताए ।

कार्यक्रममा लामो समयदेखि सामुदायिक विद्यालय सुधार अभियानमा सक्रिय शैक्षिक अभियन्ता अभिषेक घिमिरेले सहजीकरण गरेका थिए । उनले विद्यालय सुधारमा शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति र स्थानीय तहको भूमिकाबारे उदाहरणसहित स्पष्ट पारेका थिए ।

जिम्मेवार व्यक्तिको लापरवाहीले विद्यालयको अवस्था कसरी कमजोर बन्छ र जवाफदेही नेतृत्वले विद्यालयलाई कसरी उत्कृष्ट बनाउन सक्छ भन्ने विषयमा घिमिरेले प्रस्तुत गरेका उदाहरण सहभागीले रुचिपूर्वक सुनेका थिए । झण्डै पाँच घण्टा सञ्चालन भएको कार्यक्रममा सहभागी शिक्षकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

सहभागी शिक्षकहरूले कार्यक्रमले आफूहरूलाई थप जिम्मेवार र उत्तरदायी बन्न प्रेरित गरेको बताएका छन् । सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउन सकिने विभिन्न उदाहरण र अनुभवले आफूहरूलाई उत्साहित बनाएको उनीहरूको भनाइ थियो ।

यसैबीच उपमहानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग १७ बुँदे सम्झौता प्रक्रिया पनि सुरु गरेको छ । उक्त सम्झौतामा विद्यालयको शैक्षिक अवस्था सुधारका लागि विद्यालय र उपमहानगर दुवै पक्षको भूमिका तथा जिम्मेवारी समेटिएको छ ।

नगर प्रमुख र सम्बन्धित वडाध्यक्षको रोहवरमा हुने सम्झौतापत्रमा प्रधानाध्यापक, उपमहानगरपालिकाको सामाजिक तथा आर्थिक विकास महाशाखा प्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले हस्ताक्षर गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्