मादक पदार्थ जाँच गर्न खोज्दा लागूऔषध गाँजा भेटिएपछि..


eShilalekh

२० बैशाख २०८३, आईतवार २३:१३

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट ट्राफिक प्रहरीले आइतबार साँझ दुई युवकलाई लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको छ ।

मादक पदार्थ सेवन जाँचका लागि खटिएको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र प्रहरी चौकीको संयुक्त टोलीले २१ किलो गाँजासहित दुई युवकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका दुबै युवक मकवानपुरका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका ११ छतिवन घर भई राक्सिराङ ७ बस्ने १९ वर्षीय सुरेन्द्र कुँवर र स्कुटरमा सवार राक्सिराङ गाउँपालिका ७ का १९ वर्षीय सलमान गुरुङ रहेका छन् ।

मापसे जाँचका लागि रोक्न खोज्दा भाग्ने प्रयास गरेपछी संयुक्त प्रहरी टोलीले बागमती प्रदेश ०३-००३प ५७६४ नम्बरको स्कुटरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई रोकेर जाँच गर्दा दुई वटा झोलामा लुकाएर राखिएको गाँजा बरामद भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेस प्रदेशका प्रवक्ता एवम् ट्राफिक प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए ।

नियन्त्रणमा लिइएका दुई युवकलाई गाँजासहित थप कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको प्रवक्ता सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्