‘बोक्सी’ आरोपमा महिलामाथि अमानवीय व्यवहार, एक पक्राउ


eShilalekh

२१ बैशाख २०८३, सोमबार ११:५०

रौतहटः रौतहटको कटहरिया नगरपालिका ९ डुमरिया टोलमा ५५ वर्षीया एकल महिलामाथि ‘बोक्सी’ को आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शनिबार साँझ भएको उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३० वर्षीय शंकर माझीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार स्थानीय १५–२० जनाको समूहले ती महिलामाथि जादूटुना गरेको आरोप लगाउँदै कुटपिट गर्नुका साथै जबरजस्ती मलमूत्र खुवाइ अमानवीय र अपमानजनक व्यवहार गरेका थिए ।

प्रारम्भिक विवरणअनुसार छिमेकीको घरमा विवाहको क्रममा एक १० वर्षीय बालक बिरामी भई उल्टी गरेपछि महिलामाथि ‘बोक्सी’ को आरोप लगाइएको थियो । पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन् । सोही आधारमा प्रहरीले माझीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्ने काम भइरहेको छ । पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको र कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्