परवानीपुरमा एक पुरुष मृत फेला, ट्याक्टरले ठक्कर दिएको आशंका


eShilalekh

२१ बैशाख २०८३, सोमबार १२:५७

सिमराः बाराको परवानीपुर गाउँपालिका ३ स्थित बजार क्षेत्रमा सोमबार बिहान करिब ३५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृतकको शरीरमा चोटपटक देखिएकाले उनलाई कुनै सवारी साधनले ठक्कर दिएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार घटनास्थलको प्रकृति हेर्दा ट्याक्टरले ठक्कर दिएको र त्यसपछि नजिकैको स्थानमा शव छाडिएको हुनसक्ने आशंका गरिएको छ।

स्थानीयका अनुसार आइतबार राति उक्त स्थान नजिकै ट्याक्टरले माटो खसालेको थियो। सोही क्रममा दुर्घटना भएको हुनसक्ने भन्दै प्रहरीले सम्बन्धित ट्याक्टरको खोजी सुरु गरेको छ ।

मृतकको हालसम्म सनाखत हुन सकेको छैन । स्थानीय बासिन्दाका अनुसार ती पुरुष लामो समयदेखि सडक मानवका रूपमा बजार क्षेत्रमा बस्दै आएका थिए । मृत भेटिएका पुरुषको पहिचानका लागि खोजी सुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्