क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दार पदमा बढुवा


eShilalekh

२३ बैशाख २०८३, बुधबार १७:३३

वीरगन्जः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं नेपाल पुलिस क्लबका कप्तान आरिफ शेख प्रहरी सहायक हवल्दार पदमा पदोन्नति भएका छन्।

जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा कार्यरत वीरगन्ज महानगरपालिका १२ मुर्लीका शेखलाई उनको खेल कौशल र खेल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै बुधबार विशेष बढुवा गरिएको हो।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक विशेष समारोहका बिच प्रतिष्ठानका कार्यकारी निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक सिद्दि विक्रम शाहले शेखलाई नयाँ पदको दर्ज्यानी चिह्न सुशोभन गराएका थिए।

प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ३९ को प्रावधान बमोजिम उनलाई यो विशेष बढुवा प्रदान गरिएको हो। प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको मिति २०८३ वैशाख ११ गतेको पत्रादेशानुसार उनलाई जवानबाट सहायक हवल्दार पदमा बढुवा गर्ने निर्णय भएको थियो।

सोही कार्यक्रमका अवसरमा नेपाल क्रिकेट संघद्वारा आयोजना हुने ‘प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिता २०२६–२७’ का लागि नेपाल पुलिस क्लबको टोलीलाई आवश्यक खेल सामग्री समेत हस्तान्तरण गरिएको छ।

माया ग्रुप यूके र नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय बिच भएको सम्झौता बमोजिम प्राप्त ती सामग्रीहरू टिमका खेलाडी तथा अफिसियलहरूलाई प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्