सप्तरीमा जग्गा खरिदकर्तामाथि गोली प्रहार गरी लुटपाट गर्ने समूह पक्राउ

सप्तरीः सप्तरीमा जग्गा खरिद गर्न आएका दुई व्यक्तिमाथि गोली प्रहार गरी रकम लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका ६ का ४२ वर्षीया मिना खातुन, रुपनी गाउँपालिका ५ का ४३ वर्षीय हजरत मियाँ, राजगढ गाउँपालिकाका ४५ वर्षीय मंजिद मियाँ, खड्क नगरपालिका ६ का ४८ वर्षीय मुमताज मियाँ र सुरुङ्गा नगरपालिका ३ का ३५ वर्षीय उपेन्द्र मोची रहेका छन् ।
२०८२ माघ ४ गते सिरहाको लहान नगरपालिका १० का ४७ वर्षीय मोहम्मद सदाम र ६० वर्षीय ताहिर मियाँलाई सप्तरीको खड्क गाउँपालिका ५ स्थित खरचुहियामा ५ जनाको समूहले बन्धक बनाई गोली प्रहार गरेर रकम लुटेका थिए ।
घटनालगत्तै फरार रहेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाको संयुक्त टोलीले वैशाख २३ र २४ गते विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीका अनुसार पक्राउ परेका पाँचै जनामाथि अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।
इलाका प्रहरी कार्यालय कडरबोनाले उनीहरूलाई अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।






