धनुषामा स्कारपियोको ठक्करबाट एक महिलाको मृत्यु

जनकपुरः धनुषाको ढल्केबर–जनकपुर सडकखण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ सपहीचोकमा ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१–०३१ च ९०६३ नम्बरको स्कारपियोले स्कुटरलाई ठक्कर दिँदा स्थानीय ३० वर्षीया पुनम साहको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइए पनि चिकित्सकले बाटोमै मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए ।
मृतकको शव अहिले परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र त्यसका चालक विराटनगर महानगरपालिका ७ का ५२ वर्षीय नरेश राठीलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






