बारा र पर्साबाट १४ लाखभन्दा बढीको अवैध सामान बरामद

सिमराः सशस्त्र प्रहरी बलले बारा र पर्साका दुई छुट्टाछुट्टै स्थानबाट भन्सार छली ल्याइएको ठूलो परिमाणको कपडा र किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रूपमा भित्र्याइएको करिब १४ लाख १० हजार पाँच सय रुपैयाँ बराबरको तस्करीका सामान सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौंलाका अनुसार बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ कटुवा विर्ताटोलास्थित एक गोठमा लुकाएर राखिएको अवस्थामा प्रहरीले १७ पोका कपडा बरामद गरेको हो ।
वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको भन्सार कर्मचारीसहितको संयुक्त टोलीले उक्त कपडा बरामद गरेको हो । बरामद गरिएको कपडाको बजार मूल्य ११ लाख ७५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
यसैगरी पर्साको जिराभवानी गाउँपालिका १ बलुवास्थित नेपाल–भारत सीमा नजिकैका घरहरूमा अवैध रूपमा भण्डारण गरी राखिएको किराना सामान पनि सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बरामद गरिएको उक्त किराना सामानको मूल्य दुई लाख ३५ हजार पाँच सय रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक निरौलाले जानकारी दिए ।
बरामद गरिएका सबै सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।






