सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको शव फेला

सर्लाहीः सर्लाहीको गोडैता नगरपालिका क्षेत्रमा आइतबार साँझ सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका ६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडक छेउमा सडेको अवस्थामा शव भेटिएको हो ।
स्थानीयले सडक आसपास दुर्गन्ध फैलिएको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीले करिब ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेको अवस्थामा फेला परेको जनाएको छ । शवको अवस्था बिग्रिएकाले मृतकको पहिचान तत्काल खुल्न सकेको छैन ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






