वीरगन्जबाट चोरीको मोटरसाइकलसहित फरार अभियुक्त ७२ घण्टाभित्रै पक्राउ

सिमराः वीरगन्जबाट मोटरसाइकल चोरी गरी पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका अभियुक्तलाई रौतहट प्रहरीले ७२ घण्टाभित्रै पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका ३ का २३ वर्षीय जाविर अन्सारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार विशेष अनुसन्धान र प्रविधिको सफल प्रयोगबाट फरार अभियुक्तलाई नियन्त्रणमा लिइएको हो ।
घटना विवरण अनुसार गत वैशाख २२ गते बिहान मौलापुर बजारको आईटी चौक क्षेत्रमा हरनहियाबाट मौलापुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२७ प ७५७५ नम्बरको मोटरसाइकलले स्थानीय २० वर्षीया सुनिता कुमारीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा सुनिता गम्भीर घाइते भएकी थिइन् भने चालक मोटरसाइकल घटनास्थलमै छोडेर फरार भएका थिए । प्रहरीले सो मोटरसाइकलको अनुसन्धान गर्दा उक्त सवारी वीरगन्ज महानगरपालिका नगवाका रमेश कुमार पटेलको रहेको र सोही दिन बिहान ५ बजेतिर नगवा चौकबाट चोरी भएको खुल्न आएको थियो । चोरीको विषयमा पर्सा प्रहरीमा यसअघि नै उजुरी समेत परिसकेको थियो ।
दुर्घटनापछि फरार रहेका अन्सारीको खोजीका लागि रौतहट प्रहरीले सम्भावित नाका र मार्गहरूमा कडा निगरानी बढाएको थियो । प्रविधि र हुलिया विश्लेषणका आधारमा खोजी कार्य जारी राख्दै गर्दा प्रहरीले वैशाख २५ गते बंकुल नहर चोकबाट उनलाई पक्राउ गरेको हो ।
हाल प्रहरीले अन्सारीमाथि सवारी ज्यान र चोरी मुद्दा अन्तर्गत थप कानुनी प्रक्रिया अगाडि बढाएको डीएसपी बस्यालले जानकारी दिएका छन् ।






