सर्लाहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

सर्लाहीः सर्लाहीको रामनगर गाउँपालिकामा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
बरहथवा–मधुवनी सडकखण्डअन्तर्गत रामनगर गाउँपालिका ५ स्थित बैजनाथ चोकमा राति करिब ८ बजे भएको दुर्घटनामा भारतको सितामढी ढेगका ३५ वर्षीय गौरव पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बरहथवाबाट गडहीयातर्फ जाँदै गरेको ज.७.प २६१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडि सवार २३ वर्षीय भारतीय नागरिक उज्वल पटेल गम्भीर घाइते भएका छन् ।
उनलाई उपचारका लागि भारतको सितामढीस्थित एक अस्पतालको आइसियुमा राखिएको प्रहरीले जनाएको छ । मृतक गौरव पटेलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।






