मधेस टी–२० क्रिकेट लिगमा रौतहट र महोत्तरीको विजयी सुरुवात

कलैया: मधेस टी–२० क्रिकेट लिगको दोस्रो संस्करणमा रौतहट र महोत्तरीले विजयी सुरुवात गरेका छन् । बारा र पर्सामा सुरु भएको प्रतियोगिताको पहिलो दिन रौतहटले सर्लाहीलाई तथा महोत्तरीले पर्सालाई पराजित गर्दै दुई/दुई अंक जोडेका हुन् ।
वीरगन्जस्थित टिबी शाह रंगशालामा भएको खेलमा महोत्तरीले पर्सामाथि ९ विकेटको सहज जित निकाल्यो । पर्साले दिएको ७८ रनको सामान्य लक्ष्य महोत्तरीले ७.५ ओभरमै एक विकेट गुमाएर पूरा गरेको थियो ।
महोत्तरीको जितमा ओपनर रविकुमार सिंह चम्किए । उनले २७ बलमा सात चौका र दुई छक्काको मद्दतमा अविजित ५० रन बनाउँदै प्लेयर अफ दि म्याच घोषित भए । अर्का ओपनर महमद सर्फराज अन्सारीले २० रनको योगदान दिए । पर्साका अनुजकुमार चौहानले एक विकेट लिए पनि अन्य बलर प्रभावहीन बने ।

यसअघि टस हारेर ब्याटिङ गरेको पर्साले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन मात्र बनाउन सक्यो । पर्साका महमद समीरले २३ तथा चन्दन रामले १६ रन बनाए । महोत्तरीका रमेश सहनी र आकाश मण्डलले तीन/तीन विकेट लिए भने रविकुमार सिंहले दुई तथा नितेश यादवले एक विकेट हात पारे ।
यस्तै अर्को खेलमा रौतहटले सर्लाहीलाई ६ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको सर्लाही १६.१ ओभरमै ५९ रनमा समेटिएको थियो । सर्लाहीका अलि हसनले १८ तथा हेमन्त सिंहले १६ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन् ।
रौतहटका मुकेश रामले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए र प्लेयर अफ दि म्याच घोषित भए । राजेश यादव, आशिक बैठा र डब्लु मल्लिकले समान दुई/दुई विकेट लिए।
६० रनको लक्ष्य पछ्याएको रौतहटले ८.१ ओभरमा चार विकेट गुमाउँदै जित निकालेको थियो । रौतहटका बिजय गुप्ताले ३४ तथा डब्लु मल्लिकले १५ रन बनाए । सर्लाहीका अभय यादवले चार विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यता कलैयास्थित सिद्धेश्वर खेल मैदानमा तय भएका बारा र सप्तरी तथा धनुषा र सिरहाबीचको खेल खराब मौसमका कारण रद्द भएका छन् । खेल रद्द भएपछि चारवटै टोलीले एक/एक अंक बाँडेको मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभाष जयसवालले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत बिहीबार सिद्धेश्वर खेल मैदानमा सिरहा र सप्तरी तथा बारा र धनुषाबीच प्रतिस्पर्धा हुनेछ। यस्तै वीरगन्जस्थित टिबी शाह मैदानमा पर्सा र रौतहट तथा महोत्तरी र सर्लाहीबीच खेल हुनेछ ।
टिबी शाह मैदानमा आयोजित उद्घाटन समारोह मधेस प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले उद्घाटन गरेका थिए । प्रतियोगिता जेठ ८ गतेसम्म सञ्चालन हुनेछ ।
राउण्ड रोबिन आधारमा सञ्चालन हुने प्रतियोगिताबाट शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो संस्करणको उपाधि बाराले जितेको थियो ।






