पर्सामा पाँचवटा चोरीका साइकलसहित एक जना पक्राउ

वीरगन्जः जिल्ला प्रहरी कार्यालय पर्साले साइकल चोरी कार्यमा संलग्न एक जनालाई चोरी भएका ५ वटा साइकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका २४ रामगढवाका २६ वर्षीय लाल महम्मद अन्सारी रहेका छन् ।
बाराको प्रसौनी गाउँपालिका ५ प्रस्टोकाका २२ वर्षीय विशाल शाहले जेठ १३ गते पर्साको वीरगन्ज महानगरपालिका १५ स्थित नेशनल मेडिकल कलेज परिसरमा पार्किङ गरी राखेको आफ्नो साइकल चोरी भएको भन्दै वडा प्रहरी कार्यालय श्रीपुरमा खोजतलासका लागि निवेदन दिएका थिए ।
उक्त निवेदनका आधारमा प्रहरीले सिसिटिभी फुटेज तथा प्राविधिक विश्लेषणमार्फत अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले अन्सारीको साथबाट शाहको चोरी भएको साइकलसहित अन्य चारवटा चोरीका साइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका अन्सारीविरुद्ध चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पाँचवटा साइकलसहित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






