रास्वपा जीतपुरसिमराको नगर सभापतिका लागि केसी र न्यौपाने आकांक्षी, क–कसले गराए मनोनयन ? (सूचीसहित)

सिमराः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पालिका अधिवेशन अन्तर्गत जीतपुरसिमरा उपमहानगरको सभापतिका लागि दुई जनाले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउनेमा हालका सभापति सुरेशराज केसी र युवराज न्यौपाने रहेका छन् ।
जीतपुरसिमरा १ स्थित थानीमाई वन उपभोक्ता समूह परिसरमा रास्वपा जीतपुरसिमराको प्रथम अधिवेशन भईरहेको छ । अधिवेशन अन्तर्गत १९ सदस्यीय कार्यसमिति चयनका लागि मनोनयन सम्पन्न भएको छ ।
उपसभापतिका लागि कविता चौधरी र सुशिला कार्कीले मनोनयन गरेका छन् । यसैगरी सचिवमा अमृत बस्याल, निरोज पुडासैनी र शाही किरण मैनालीले मनोनयन दर्ता गरेका छन् । सहसचिवमा नारायण उप्रेतीको उम्मेदवारी परेको छ भने सदस्य पदका लागि २५ जनाले उम्मेदवारी दिएका छन् ।
मनोनयन सम्पन्न भएसँगै सर्वसम्मत् नेतृत्व चयनका लागि प्रयास भईरहेको छ । अधिवेशनमा केन्द्रीय प्रतिनिधिका रुपमा रास्वपा केन्द्रीय संगठन विभाग विज्ञ समूह सदस्य उदयराज सापकोटा र निर्वाचन प्रमुखमा प्रदेश सदस्य सजना उप्रेतीले सहजीकरण गरिरहेका छन् ।
अधिवेशनले १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । कार्यसमितिमा चयन भएका सदस्यमध्येबाट एक जनालाई अध्यक्षले कोषाध्यक्ष पदमा मनोनित गर्न सक्ने प्रावधान रहेको छ ।






