महोत्तरीमा इनार खन्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु

महोत्तरीः महोत्तरीको गौशाला नगरपालिका १२ पररियामा इनार खन्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका १३ का २२ वर्षीय वसन्तकुमार महतो रहेका छन् ।
गौशाला नगरपालिकाको बजेटबाट वडास्तरमा ठेक्का लागेको उक्त इनारभित्र जमिनमुनि रहेको काठ मेसिन प्रयोग गरेर काट्ने क्रममा दुर्घटना भएको हो । ३६ फिट गहिरो इनारभित्र मेसिन चलाउँदा निस्किएको धुवाँका कारण महतो बेहोस भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी पञ्चलाल गोलेका अनुसार बेहोस भएका महतोलाई तत्काल उद्धार गरी उपचारका लागि ईश्वरपुर नगर अस्पताल बयलबास लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गोलेले जनाएका छन् ।






