सिमराको सटर विवादः उच्च अदालतद्वारा उपमहानगरको पक्षमा फैसला, व्यवसायीको दाबी नपुग्ने

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित मुख्य बजारको सार्वजनिक जग्गामा बनेका सटरहरू हटाउने उपमहानगरको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालतले दाबी नपुग्ने फैसला गरेको छ । उच्च अदालत वीरगन्जका न्यायाधीश हरिप्रसाद पौडेल र निर्मला पौडेल भट्टराईको संयुक्त इजलाशले शुक्रबार व्यवसायीहरूको दाबी नपुग्ने फैसला गरेको हो ।
साविक पिपरा सिमरा गाविस वडा नं. २ को कित्ता नं. ८३२ मा रहेको सार्वजनिक जग्गामा बनेका ७ वटा सटरहरूको विवाद लामो समयदेखि चल्दै आएको थियो । मुख्य बजारबाट नगर अस्पतालतर्फ जाने बाटोको उत्तर र रामजानकी मन्दिरको दक्षिणतर्फ रहेका ती सटरहरूमा मेडिकल, रेडिमेड कपडा, सैलुन लगायतका व्यवसाय सञ्चालनमा थिए ।
उपमहानगरपालिकाले सार्वजनिक जग्गा खाली गराउने निर्णय गरेपछि व्यवसायी विमला अधिकारीसहित ६ जनाले गत वैशाख ३ गते उच्च अदालत वीरगन्जमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले अन्तिम फैसलामार्फत व्यवसायीको दाबी नपुग्ने ठहर गरेको हो।

यसअघि नै खाली भइसकेका थिए सटर
यसअघि वैशाख ११ गते उच्च अदालतका न्यायाधीश जगतबहादुर थापा र निर्मला शाक्यको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएपछि उपमहानगरपालिकालाई सटर खाली गराउने बाटो खुलेको थियो ।
अदालतको सोही आदेशलाई टेक्दै उपमहानगरपालिकाले वैशाख १६ गते तीन दिने सूचना जारी गरेपछि व्यवसायीहरू आफैंले गत वैशाख १८ गते शुक्रबार सटरहरू खाली गरेका थिए । तोकिएको समयभित्र सटर खाली नगरे सामान जफत गर्ने उपमहानगरको चेतावनीपछि व्यवसायीहरू आफैं सामान सार्न बाध्य भएका थिए ।
वैशाख १८ गते सटर खाली गराउन उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदीको नेतृत्वमा नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली पुगेको थियो । त्यसबेला व्यवसायीहरूले जेठ ४ गतेको अदालतको पेशी (जुन पछि सरेर आज जेठ २२ मा फैसला भयो) सम्म पर्खन अनुरोध गरे पनि प्रशासकीय अधिकृत सुवेदीले सटर खाली गराउन सहजीकरण गरेका थिए।
व्यवसायी आफैंले सामान हटाउन थालेपछि उपमहानगरपालिकाको कार्यालयले ती खाली सटरहरूमा ताला लगाएर अदालतको अन्तिम फैसला पर्खेको थियो । उच्च अदालतले उपमहानगरकै पक्षमा अन्तिम फैसला सुनाएपछि उक्त सार्वजनिक जग्गा अब पूर्ण रूपमा उपमहानगरपालिकाको मातहतमा आएको छ र यसलाई नगरको योजनाअनुरूप उपयोग गर्ने बाटो खुलेको छ ।
सम्बन्धित समाचारः







