व्यवसायीहरूको वास्तविक सारथी बन्न मेरो स्वतन्त्र उम्मेदवारी: शान्ताकुमारी बजगाईं (रिना)


eShilalekh

५ असार २०८३, शुक्रबार १५:४२

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको चुनावी सरगर्मी निकै चुलिएको छ । स्थानीय उद्योगी, व्यापारी र व्यवसायीहरूका लागि काम गर्ने संगठन भएकाले यस निर्वाचनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यतिबेला कार्यसमितिका विभिन्न पदका उम्मेदवारहरू आ-आफ्नो एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् । यसै चुनावी माहोलकाबीच संघलाई नयाँ उचाइमा पुर्‍याउने र व्यवसायीहरूको वास्तविक सारथी बन्ने दाबीसहित जीतपुरमा कस्मेटिक व्यवसाय गर्दै आउनुभएकी शान्ताकुमारी बजगाईं (रिना बजगाईं) ले वाणिज्य तर्फको सचिव पदमा उम्मेदवारी दिनुभएको छ । विगतको कार्यसमितिमा सदस्य पदको जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नु भएकी बजगाईं एक स्थापित महिला उद्यमी तथा मानव अधिकार एलाइन्स बाराकी जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । करिब १६ वर्षदेखि व्यवसायमा आबद्ध बजगाईंसँग चुनावी सन्दर्भमा गरिएको संक्षिप्त कुराकानी:

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको वाणिज्य तर्फको सचिव पदमा यहाँको उम्मेदवारी किन ? मुख्य एजेन्डाहरू के–के छन् ?

म यसभन्दा अघिल्लो कार्यसमितिमा सदस्य पदमा रहेर सफलतापूर्वक काम गरिसकेको व्यक्ति हुँ । त्यसबेला एउटा सानो कोठामा सीमित रहेको वाणिज्य संघको कार्यालयलाई हामीले तीनतले सुविधासम्पन्न भवनमा रूपान्तरण गर्न सफल भयौं, जसमा मेरो पनि महत्त्वपूर्ण योगदान छ । आज त्यही आफ्नै भवनको आँगनमा उभिएर गर्वका साथ मैले सचिव पदमा उम्मेदवारी दिएकी छु । सदस्य हुँदा र सचिव पदमा बस्दाको जिम्मेवारी पक्कै पनि फरक हुन्छ । विगत ८ वर्षको अवधिमा मैले सांगठनिक र व्यावहारिक रूपमा धेरै परिपक्वता हासिल गरेकी छु । जीतपुर बजारमा साना-ठूला व्यवसायी र टाढा-टाढाबाट आउने ग्राहकहरूले बजार व्यवस्थापन र अन्य थुप्रै समस्या भोगिरहेका छन् । म स्वयम् पनि विगत १६ वर्षदेखि यहाँ भाडाको घरमा पसल संचालन गरिरहेकी एक साना व्यवसायी भएकाले व्यवसायीहरूको पीडा नजिकबाट बुझेकी छु । त्यसैले उद्योग वाणिज्य संघभित्र हुने गरेका अनियमितता रोक्न, आवाजविहीन व्यवसायीहरूको बुलन्द आवाज बन्न र बजारलाई आधुनिक एवं व्यवस्थित बनाउन मैले उम्मेदवारी दिएकी हुँ ।

१६ वर्षदेखि जीतपुरमा व्यवसाय गरिरहनुभएको छ, यहाँको अनुभवमा बजार र व्यवसायीका समस्या कस्ता छन् ?

मैले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ मा विगत १६ वर्षदेखि व्यवसाय संचालन गर्दै आएकी छु । तर दुःखको कुरा १६ वर्ष अगाडिको अवस्था र आजको अवस्था हेर्दा बजारमा खासै सकारात्मक परिवर्तन आउन सकेको छैन । बजार व्यवस्थापन भद्रगोल छ र व्यवसायीहरूका आफ्नै पीडा छन् । यहाँका धेरैजसो व्यवसाय पुर्खादेखि नाति पुस्तासम्म आइपुगेका परम्परागत प्रकृतिका छन् । कतिपय व्यवसायीहरू आधुनिक प्रणाली र कर शिक्षाबारे दिक्षित हुनुहुन्न, जसले गर्दा खातापाता कसरी राख्ने र हिसाब–किताब कसरी चुस्त बनाउने भन्ने अन्योल छ । व्यवसायीहरूलाई सिकाएर सहजीकरण गर्नुपर्ने ठाउँमा उल्टै विभिन्न खालका त्रास फैलाउने काम भइरहेको देखिन्छ । व्यवसायी मात्र होइन यहाँ किनमेल गर्न आउने ग्राहकहरूले समेत पूर्वाधार र व्यवस्थापनको कमजोरीका कारण सास्ती भोग्नुपरिरहेको छ ।

यदि तपाईं सचिव पदमा निर्वाचित हुनुभयो भने यी समस्याहरूलाई कसरी समाधान गर्नुहुन्छ ? तपाईंका कार्ययोजना के छन् ?

म सचिव पदमा विजयी भएर आएपछि सबैभन्दा पहिला हरेक वस्तुगत संगठनलाई छुट्टाछुट्टै समूहमा वर्गीकरण गर्नेछु । उहाँहरूलाई नेपाल सरकारले लागू गरेको आधुनिक र डिजिटल प्रणालीमा ढाल्न मेरो विशेष पहल रहनेछ । व्यवसायीहरूका लागि कर, भ्याट र आधुनिक व्यावसायिक खाता व्यवस्थापन सम्बन्धी आवश्यक तालिमको व्यवस्था गर्नेछु, ताकि उहाँहरू सबल र त्रासमुक्त भएर व्यवसाय गर्न सकून् ।हामीले विगतमा बनाएको भवन आज पनि जस्ताको त्यस्तै छ, त्यसलाई अझ आकर्षक र व्यवस्थित बनाउने मेरो योजना छ । संस्थाले मात्र गर्न नसकेका बजार व्यवस्थापनका कामहरूका लागि म आफ्नो पद र पहुँचको पूर्ण प्रयोग गर्नेछु । माथिल्लो सरकारी निकाय वा विभागहरूसम्म पुगेर भए पनि नयाँ ढंगले बजारको विकास गर्न म पूर्ण रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

तपाईं एक महिला व्यवसायी पनि हुनुहुन्छ, महिला व्यवसायीहरूको हकहित र सशक्तीकरणका लागि के सोच्नुभएको छ ?

आजको समयमा महिलाहरू चुलोचौकोमा मात्र सीमित छैनन्, उनीहरू सफल उद्यमी र व्यवसायी बन्न सक्छन् भन्ने उदाहरण धेरै छन् । विगत १६ वर्षमा एउटा महिला भएर व्यवसाय गर्दा मैले अनेकौं चुनौती, हेपाइ र अवरोधहरूको सामना गरेकी छु । तर तिनै संघर्षहरूले मलाई झन् बलियो र परिपक्व बनाएका छन् । आज म एउटा पसलबाट दुईवटा पसल संचालन गर्ने स्थानमा आइपुगेकी छु र अरूलाई रोजगारी समेत दिएकी छु । म जस्तै अरू महिलाहरूलाई पनि विभिन्न व्यवसायमा आबद्ध गराउन र उनीहरूका समस्या समाधान गर्न मेरो विशेष पहल हुनेछ । किनभने एउटा महिला सक्षम हुनु भनेको सिंगो परिवार र समाज सक्षम हुनु हो । अब म कसैको दबाब वा उक्साहटमा लाग्नेवाला छैन, महिला उद्यमीहरूको अधिकारका लागि दृढ भएर उभिनेछु ।

तपाईंले यस पटकको उद्योग वाणिज्य संघको निर्वाचनमा कुनै पनि प्यानल रोज्नुभएन र स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिनुभयो । आखिर तपाईंको यो स्वतन्त्र उम्मेदवारी किन हो ?

हो, म यस पटक स्वतन्त्र रूपमै निर्वाचनमा उठेको हुँ । उद्योग वाणिज्य संघ व्यवसायीहरूको साझा छाता संगठन हो र त्यहाँ हामी राजनीति गर्न होइन, व्यवसायीहरूको हितमा काम गर्न जाने हो । काम गर्नका लागि कुनै निश्चित टिम वा प्यानल बनाएरै जाननुपर्छ भन्ने मलाई लाग्दैन । अचेल प्यानल बलियो बनाउने नाममा योग्यता र क्षमता नै नहेरी आफ्ना नातागोता र आफन्तहरूलाई मात्रै समावेश गर्ने विकृत प्रवृत्ति देखिएको छ । कसैको दबाब वा निर्देशनमा चलेर काम गर्नुभन्दा आफ्नै विवेक र खुसीले अघि बढ्नु राम्रो हो । प्यानलबाट जाँदा संस्थाको हितभन्दा पनि प्यानलको निर्देशन र निर्णयलाई मात्र शिरोधार्य गर्नुपर्ने बाध्यता हुन्छ, जसले गर्दा स्वतन्त्र रूपमा आफ्ना कुराहरू राख्ने वातावरण नै रहँदैन । म जितेर एक्लै जाने त होइन, तर स्वतन्त्र रहँदा कम्तीमा आफ्ना सही कुरा र योजनाहरू बिनाकुनै डर र दबाब राख्न पाइने भएकाले नै मैले स्वतन्त्र उम्मेदवारी दिएकी हुँ ।

तपाईं त मानव अधिकार एलाइन्स बाराको अध्यक्ष पनि हुनुहुन्छ, सामाजिक क्षेत्रको यो अनुभव वाणिज्य संघमा कसरी उपयोगी होला?

हो, म हाल मानव अधिकार एलाइन्स बारा जिल्लाको अध्यक्षको रूपमा कार्यरत छु । कोही पनि मानव आफ्नो अधिकारबाट वञ्चित नहोस् भनी लड्ने मेरो स्वभाव छ । म महिलाका लागि मात्र होइन, समग्र मानव अधिकार र न्यायका लागि निरन्तर क्रियाशील छु । कतिपय सामाजिक कामहरू प्रत्यक्ष रूपमा फेसबुक, टिकटक वा रिल्स बनाएर देखाउन मिल्दैन र म त्यसो गर्दिनँ पनि । सामाजिक सञ्जालमा नदेखिए पनि म अन्यायमा परेकाहरूको सारथी बनेर निरन्तर लडिरहेकी हुन्छु । आज पनि मेरो मोबाइलमा अप्ठ्यारोमा परेका नागरिकहरूका अनगिन्ती म्यासेजहरू आउँछन् र म उहाँहरूसँगै भिजेर काम गर्छु । यही सामाजिक र नेतृत्वदायी अनुभवका कारण म वाणिज्य संघभित्र हुने अनियमितता र कमजोरीहरूलाई सजिलै पहिचान गरी सुधार्न सक्छु । पदमा बसेर ‘काम गर्न दिएनन्’ भन्ने बहानाबाजी मलाई मान्य छैन । आवाज सधैं स्वतन्त्र हुन्छ, नेतृत्वमा इच्छाशक्ति भए कसैले काम रोक्न सक्दैन ।

अन्त्यमा, जीतपुर र सिमराबीचको क्षेत्रीय भावना तथा विगतको अनुभवलाई लिएर मतदाताहरूलाई के अपिल गर्न चाहनुहुन्छ?

म स्पष्ट भन्न चाहन्छु, विगतको स्थानीय निर्वाचनमा मलाई महिला भएकै कारण र आर्थिक अवस्था कमजोर देखाइँदा वडा अध्यक्षको उम्मेदवारी दर्ता गर्न जाँदा बाटोबाटै फर्काएर ठूलो अन्याय गरिएको थियो । तर म रोकिने मान्छे होइन । अहिले उद्योग वाणिज्य संघको चुनावमा भोट माग्न जाँदा वर्तमान कार्यसमितिको निष्क्रियताका कारण ‘संघले के गर्‍यो र भोट दिने?’ भन्ने जनताको आक्रोश सुन्नुपर्दा लाजमर्दो अवस्था छ । जहाँसम्म सिमरा र जीतपुरको कुरा छ, मेरो घर सिमरा भए पनि विगत १६ वर्षदेखि मेरो कर्मथलो र व्यवसाय यही जीतपुर नै हो । त्यसैले पुल वारि र पारि भनेर क्षेत्रीय विभेद नगरी सही, सक्षम र त्यागी व्यक्तिको पहिचान गरेर मतदान गर्नहुन म सम्पूर्ण उद्योगी, व्यवसायी साथीहरूलाई हार्दिक अनुरोध गर्दछु । यदि मैले १६ वर्षको अवधिमा यस समाजमा कहीँ कतै गलत गरेकी छु भने मलाई भोट नदिनुस्, तर म जत्तिको निष्कलंक र सक्षम उम्मेदवारलाई जिताएर आफ्नो आवाज बुलन्द गराउनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।

प्रतिक्रिया दिनुहोस्