भारतको मुजफ्फरपुरमा अलपत्र परेकी नेपाली महिलाको उद्धारपछि परिवारसँग पुनर्मिलन

वीरगञ्जः भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा फेला परेकी एक नेपाली महिलाको सफल उद्धारपछि परिवारसँग पुनर्मिलन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रम वीरगञ्जको समन्वय तथा भारतीय प्रहरीको सहयोगमा गत भदौ २७ गते उनको उद्धार गरी वीरगञ्ज ल्याइएको थियो ।
वीरगञ्जस्थित मानवसेवा आश्रममा आवश्यक हेरचाह र संरक्षण प्रदान गरिएकी ती महिलाका बुवासँग सम्पर्क भएपछि शुक्रबार औपचारिक रूपमा परिवारको जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई, प्रहरी नायब उपरीक्षक चक्र मल्ल र मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताको उपस्थितिमा उनलाई बुवाको जिम्मा लगाइएको आश्रमले जनाएको छ ।
लामो समयदेखि परिवारबाट टाढा रहेकी महिलालाई घरपरिवारसँग पुनर्मिलन गराउन भारतीय प्रहरी, पर्सा प्रहरी र मानवसेवा आश्रमबीचको समन्वय अत्यन्तै प्रभावकारी बनेको छ भने आश्रमले यस कार्यमा सहयोग गर्ने सम्पूर्ण निकाय तथा व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ ।







