रौतहटमा चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

रौतहटः रौतहटको गरुडा नगरपालिका ४ बाट चोरी भएको पल्सर मोटरसाइकलसहित दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा गढीमाई नगरपालिका ६ का २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय राम नारायण यादव रहेका छन् ।
मंगलबार बेलुका करिब ६ बजे गरुडा नगरपालिका ४ स्थित घर अगाडि पार्किङ गरी राखिएको बा.प्र.०२–०४१ प ३८४९ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ तत्कालै गढीमाई नगरपालिका ६ स्थित प्रहरी चौकी धर्मपुरबाट खटिएको प्रहरी टोलीले धर्मपुर गाउँबाट बाहिरिने एक मात्र पुलमा निगरानी बढाउँदै तत्काल चेकिङ सुरु गरेपछि चोरीको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिएका छन् ।







