जापानमा ज्यान गुमाएकी जीतपुरसिमराकी सचिता चौधरीको २६औं दिनमा गरियो अन्तिम संस्कार

सिमरा: जापानमा गत जेठ १७ गते ज्यान गुमाएकी जीतपुरसिमरा उपमहानगरपालिका-१९ की २० वर्षीया युवती सचिता चौधरीको २६औं दिनमा बिहीबार अन्तिम संस्कार गरिएको छ । जापानबाट शव नेपाल ल्याएर गाउँमा अन्तिम संस्कार गरिएको हो ।
सचिताको शव बुधबार जीतपुरसिमरा उपमहानगरपालिका-१९ ठूलो मटेरियास्थित घरमा ल्याइएको थियो । उनी नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीकी उपसचिव अलौपिया चौधरी तथा सुशील चौधरीकी छोरी हुन् ।
अन्तिम संस्कारअघि नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले श्रद्धाञ्जली व्यक्त गरेको थियो । अन्तिम संस्कारमा एमालेका नेता तथा कार्यकर्ता सहभागी थिए ।
उच्च शिक्षाका लागि जापान गएकी चौधरीको हृदयघातका कारण निधन भएको बताइएको छ । फेसन डिजाइनर समेत रहेकी उनी ओशाका हस्पिटालिटी एकेडेमीमा अध्ययनरत थिइन् ।
उनको शव नेपाल ल्याउन आर्थिक समस्या परेपछि जापान र नेपालमा सहयोग संकलन अभियान संचालन गरिएको थियो ।







