सभामुख अर्याल आज बारा-पर्सा आउँदै

सिमरा: प्रतिनिधिसभाका समामुख डोलप्रसाद (डिपी) अर्याल आइतबार बारा आउँदै छन् । छठ पर्वका अवसरमा मधेसको छठघाटको दर्शन गर्ने उदेश्यसहित सभामुख अर्याल बारा आउन लागेका हुन ।
सभामुख अर्याल हेटौंडाबाट सडकमार्ग हुँदै सिमरा आउनेछन् । उनले बिहान करिब १० बजे जीतपुरसिमरा-४ स्थित औराहमा निर्मित कृष्ण मन्दिर अवलोकन गर्ने कार्यक्रम छ ।
मन्दिर अवलोकन पछि सभामुख अर्यालले सिमरस्थित होटल क्लासिकमा भेटघाट गर्नेछन् । भेटघाट पछि अर्याल करिब १२ बजे वीरगन्ज प्रस्थान गर्ने र त्यहाँ उद्योगी, व्यवसायीसँग भेटघाट गर्नुका साथै छठघाटको अवलोकन गर्नेछन् ।
सभामुख अर्यालले बाराको परवानीपुर, जीतपुरको छठघाट समेत दर्शन गर्नेछन् । उनी साँझ मुर्लीको महाआरतीमा सहभागी हुनेछन् ।
सभामुख सोमबार रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।





