संविधान र कानूनको परिधिभित्र रहेर मात्र विकास र सुशासन सम्भव: सभामुख अर्याल


eShilalekh

२९ कार्तिक २०८३, आईतवार १३:४०

सिमराः सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानूनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासनको प्रक्रिया अघि बढाउन सकिने बताएका छन् । बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा आइतबार आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान तथा कानूनलाई मिचेर कुनै पनि काम गर्न नमिल्ने स्पष्ट पारेका हुन् ।

देश लोकतान्त्रिक प्रणाली र कानूनी राज्यको अभ्यासमा रहेकाले काम गर्न बाधा पुर्‍याउने पुराना तथा खराब कानूनलाई संशोधन गरेर मात्रै अघि बढ्नुपर्ने सभामुख अर्यालको भनाइ थियो । उनले देशको समृद्धि, सुशासन र विकास निर्माणका लागि अबको ५०औं वर्षसम्म संशोधन गर्न नपर्ने गरी दीर्घकालीन कानून निर्माणको आवश्यकता रहेको औंल्याए ।

मधेसका आठ जिल्लामा सबैभन्दा छिटो, सस्तो र सजिलो तरिकाले विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि यहाँको शिक्षा, स्वास्थ्य, सडक र सामाजिक विकास पछि परेकोमा उनले चिन्ता व्यक्त गरे । साढे चार वर्षअघि राजनीतिमा प्रवेश गरेदेखि नै यो विषय आफ्नो मनमा खेलिरहेको बताउँदै उनले जनप्रतिनिधिहरू जनताका कारिन्दा भएकाले समृद्धिका लागि सामाजिक दबाब तथा बहसको निरन्तर आवश्यकता रहेको बताए । संसारका विभिन्न देशहरू लामो समयको प्रयासपछि मात्र विकसित भएको उदाहरण दिँदै उनले विकासमा केही ढिला भए पनि हतारिन नहुने धारणा राखे ।

उनले विकासका लागि स्थानीय सरकार सबैभन्दा गम्भीर हुनुपर्ने बताउँदै जायज माग पूरा नभएसम्म प्रदेश र संघ सरकारसँग निरन्तर लबिङ गर्न सुझाव दिए । स्थानीय सरकार सबैभन्दा बलियो हुनुपर्ने र स्थानीय स्तरमा भएका समस्यालाई प्रदेश र संघसम्म निरन्तर पुर्‍याउनुपर्ने जोड दिँदै उनले माग पूरा नभएसम्म लबिङ गरिराख्नुपर्ने बताए ।

सभामुख अर्यालले सामाजिक सञ्जाल र मोबाइलको गलत प्रयोगले समाजमा भ्रम, विकृति र दुर्घटना निम्त्याइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले सरकारको निर्देशन र सुरक्षा निकायको नियन्त्रणले मात्रै यो समस्या समाधान नहुने भएकाले सानै उमेरदेखि बालबालिकालाई सही शिक्षा दिनुपर्ने र समाज आफैं सचेत हुनुपर्ने बताए । मधेस हिमाल, पहाड र तराईबाट आएका नागरिकहरू मिलेर बसेको एक सुन्दर बगैँचा जस्तै रहेको चर्चा गर्दै उनले बगैँचामा बास्नादार फूलसँगै काँडा भएका फूल पनि हुने भएकाले सबैले मिलेर सद्भाव कायम राख्नुपर्ने बताए । उनले मधेसको शिक्षा, स्वास्थ्य, सामाजिक तथा भौतिक विकासका लागि कानून निर्माणको तहबाट आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

छठ पर्वको अवसरमा बारा र पर्साका विभिन्न छठघाटको दर्शन तथा अवलोकनका लागि हेटौंडाबाट सडकमार्ग हुँदै सिमरा आइपुगेका सभामुख अर्यालले जीतपुरसिमरा उपमहानगरपालिका-४ स्थित नवनिर्मित श्रीकृष्ण मन्दिरको समेत अवलोकन गरेका थिए । सिमराको कार्यक्रम सम्पन्न गरी उनी वीरगन्जतर्फ प्रस्थान गरेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, प्रकाश गौतमलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्