एक हप्ता नबित्दै सर्पदंशबाट जीतपुरसिमरामा अर्को एक बालिकाको मृत्यु

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशको घटनाले एक हप्ता नबित्दै अर्को एक बालिकाको ज्यान गएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१४ मौलापुरमा बिषालु सर्पले डसेर बिहीबार राति पाँच वर्षीया दियान्सी रानामगरको मृत्यु भएको हो ।
बालिकालाई घर अगाडि बसिरहेको अवस्थामा राति करिब ८ बजे सर्पले डसेको परिवारले जानकारी गराएका छन् । बालिकालाई उपचारका लागि वीरगन्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
बालिकाको शव राति नै घर ल्याइएको छ भने शुक्रबार बिहान प्रहरीलाई घटनाबारे जानकारी गराइएको छ । रजघट्टास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दीपेन्द्र साहले घटनाबारे जानकारी आएको बताएका छन् ।
स्थानीय कृष्ण बहादुर र दिपिका राना मगरकी छोरी दियान्सी जीतपुरसिमरा-१४ स्थित साना किसान शिक्षा सदनमा एलकेजीमा अध्ययनरत थिइन् । बालिकाको निधनपछी जीतपुरसिमराका निजी विद्यालयले शुक्रबार शोक बिदा दिएका छन् ।
एक हप्ता नबित्दै जीतपुरसिमरामा दुई बालिकाले सर्पदंशबाट ज्यान गुमाउनु परेको छ । यसअघि असार ८ गते जीतपुरसिमरा-१५ डुमरवानास्थित डाँडाटोलकी चार वर्षीया बालिका सुप्रिना दोङको सर्पले डसेर ज्यान गएको थियो ।







