जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को प्रशासनिक भवन उद्घाटन


eShilalekh

१४ असार २०८३, आईतवार १६:१३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को नवनिर्मित प्रशासनिक भवन एक समारोहका बीचआइतबार उद्घाटन गरिएको छ ।नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी र वडाध्यक्ष हिराबहादुर गुरुङको उपस्थितिमा भवनको उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख पौडेलले आधुनिक प्रशासनिक भवन सञ्चालनमा आएपछि वडा कार्यालयबाट प्रवाह हुने सेवा थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बन्ने विश्वास व्यक्त गरेका छन् ।

स्थानीय सरकारको प्रमुख उद्देश्य नागरिकलाई सहज, छिटोछरितो र गुणस्तरीय सेवा उपलब्ध गराउनु रहेको उल्लेख गर्दै उनले पूर्वाधार विकाससँगै सेवा प्रवाहको गुणस्तरमा निरन्तर सुधार गरिने बताए ।

उपप्रमुख अधिकारीले नवनिर्मित भवनले वडा कार्यालयको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउनुका साथै नागरिकले सहज वातावरणमा सेवा प्राप्त गर्ने आधार तयार भएको बताए । उनले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयबाट नागरिकको अपेक्षाअनुसार सेवा प्रदान गर्न सबै पक्ष प्रतिबद्ध रहेको धारणा राखे ।

वडा नं. १ का वडाध्यक्ष गुरुङले नयाँ भवन निर्माणसँगै वडावासीलाई सहज, पारदर्शी र गुणस्तरीय सेवा उपलब्ध गराउने जिम्मेवारी अझ बढेको बताए । उनले आगामी दिनमा वडाको समग्र विकास र जनसेवालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अन्य जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीयको सहभागिता रहेको थियो । नवनिर्मित प्रशासनिक भवन सञ्चालनमा आएपछि वडा कार्यालयबाट प्रदान गरिने सेवाहरू अझ प्रभावकारी, सहज, छिटोछरितो तथा सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्