पसलमा गाँजा राखेर बिक्री गर्ने दुई जना जीतपुरबाट पक्राउ

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित जीतपुरबाट प्रहरीले सोमबार प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै दुई स्थानको पसलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खटिएको टोलीले जीतपुरस्थित लकिचन साहको पसलबाट ५९ वटा पुरिया बनाएर राखिएको तीन सय ६० ग्राम गाँजा बरामद गरेको हो । सो समयमा पसलमा बसिरहेकी लकिचनकी श्रीमती ५० वर्षीया बच्ची साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरीले अर्को पसलबाट ६८ वर्षीय एक वृद्धलाई आठ पुरिया गाँजासहित नियन्त्रणमा लिएको छ । पसलमा बिक्री गर्न राखिएको गाँजासहित प्रहरीले सेक महमदलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको प्रहरी नायब निरीक्षक निरौलाले जानकारी दिए ।







