सिमरामा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु


eShilalekh

१५ असार २०८३, सोमबार २३:१८

सिमरा: बाराको सिमरामा सोमबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सिमरा विमानस्थल नजिक भएको दुर्घटनामा स्कुटर चालक वीरगन्ज महानगरपालिका-२९ का १७ वर्षीय लक्की सर्राफको मृत्यु भएको हो ।

प्रहरीका अनुसार डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटर सोही दिशातर्फ गइरहेको प्र.२–०३–००१ त ३७७३ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते सर्राफलाई परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

दुर्घटनामा स्कुटरको पछाडि सवार वीरगन्ज महानगरपालिका-२ छपकैयाका १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भएका छन् ।  यसैगरी मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका-२३ का २९ वर्षीय रइफुल आलम अन्सारीको दाहिने हात र खुट्टामा चोट लागेको छ ।

प्रहरीले ट्याक्टर चालक जीतपुरसिमरा–४ औराहा निवासी ७० वर्षीय शिवराज चौधरीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्