देशभर पूर्ण परिमाणको ग्यास सिलिण्डर वितरण सुरु

सिमराः पछिल्ला केही महिनादेखि बजारमा देखिएको एलपी ग्यासको चरम संकट र आधा सिलिण्डर मात्र पाउने अवस्थाको अन्त्य भएको छ । सरकारले बुधबारदेखि (आज) देशभरि नै पूर्ण भरिएको एलपी ग्यास सिलिण्डर वितरण सुरु भएको जानकारी दिएको हो ।
ग्यास आपूर्ति तथा वितरण व्यवस्था पूर्ण रूपमा सहज बनेपछि देशभरिका ग्यास उद्योग तथा विक्रेतामार्फत उपभोक्तालाई मागअनुसारकै पूर्ण परिमाणको सिलिण्डर उपलब्ध गराउन थालिएको सरकारले जनाएको छ ।
निगमले पूर्ण भरिएको सिलिण्डर (१४.२ केजी) ग्यासको उपभोक्ता मूल्य समेत स्पष्ट पारेको छ । अब उपभोक्ताले प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँ (रु. २,०६०) मा सिलिण्डर खरिद गर्न सक्नेछन् ।
यसअघि आपूर्ति व्यवस्थापनमा देखिएको प्राविधिक तथा व्यावहारिक समस्याका कारण बजारका अधिकांश स्थानमा आधा ग्यास भरिएका सिलिण्डर मात्र वितरण गरिँदै आइएको थियो ।
निगमका अनुसार अबका दिनमा नियमित रूपमा पूर्ण ग्यास भरिएका सिलिण्डरहरू बजारमा पठाइनेछ । साथै सहज आपूर्तिको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने जो–कोहीलाई पनि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी सरकारले दिएको छ ।







