रौतहटको ग्रामीण नाकाबाट तीन किशोरीको उद्धार, एक भारतीय नागरिक पक्राउ

रौतहटः मकवानपुरका तीन नाबालिग किशोरीलाई प्रलोभनमा पारी अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य पूर्वीचम्पारणको ढाका थाना क्षेत्रअन्तर्गत हारूनी गाउँका २३ वर्षीय सलाउद्दीन अन्सारी रहेका छन् ।
रौतहटको ग्रामीण नाका प्रयोग गरी सीमापार गराउन खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीको संयुक्त टोलीले अन्सारीलाई बिहारको कुण्डवा चैनपुरबाट नियन्त्रणमा लिएको हो ।
मुख्य नाकाहरू वीरगञ्ज–रक्सौल र गौरमा सुरक्षा निगरानी कडा गरिएपछि आरोपीले ग्रामीण तथा वैकल्पिक बाटो प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अन्सारीले परिवारलाई समेत जानकारी नदिई मकवानपुरकी ती युवतीहरुलाई प्रलोभनमा पारेर भारततर्फ लैजाँदै थिए ।
पक्राउ परेका आरोपीको साथबाट एक थान इलेक्ट्रिक स्कुटर, पाँच वटा मोबाइल, आधार कार्ड, प्यान कार्डका साथै नेपाली र भारतीय नगद बरामद गरिएको छ । भारत मोतीहारीका प्रहरी प्रमुख (एसपी) स्वर्ण प्रभातका अनुसार कानुनी प्रक्रिया पूरा गरी उद्धार गरिएका किशोरीहरूलाई नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइनेछ ।
घटनाको पुष्टि गर्दै रौतहटका प्रहरी प्रमुख (एसपी) सीताराम रिजालले भारतीय पक्षसँग निरन्तर समन्वय भइरहेको र कानुनी प्रक्रिया सकिएलगत्तै किशोरीहरूलाई जिल्ला प्रहरी कार्यालय गौर ल्याएर परिवारलाई बुझाइने जानकारी दिएका छन् ।







