रौतहटको माछा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

रौतहटः रौतहटको माछा पोखरीमा हाम फालेर बेपत्ता भएका एक भारतीय युवक मृत अवस्थामा फेला परेका छन् । भारतको बिहारस्थित पूर्वी चम्पारण (मोतिहारी) जिल्ला, ढाका ग्राम पञ्चायतका २३ वर्षीय मोहम्मद वजिर मृत अवस्थामा फेला परेका हुन्।
ईशनाथ नगरपालिका ४ ठुलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा मंगलबार हाम फालेर उनि बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा बुधबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मठिया र सशस्त्र प्रहरी बल औरैयाको संयुक्त टोली घटनास्थल पुगेर रातभर खोजतलास कार्यमा जुटेको थियो।
मृतक वजिरको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।







