न्यायको आशा बोकेर फर्किए मिटरब्याज पीडित


eShilalekh

२ श्रावण २०८३, शनिबार १८:३९

सिमराः सरकारसँग सहमति भएसँगै मिटरब्याज पीडितहरू न्यायको आशा बोकेर शनिबार घर फर्किएका छन् । सरकारसँग वार्ता गरेर फर्किएको टोलीले सहमतिका विषयमा जानकारी गराएपछि पीडितहरूले ‘पैदल न्याय मार्च’ आन्दोलन स्थगित गरी निजगढबाट घर फर्किएका हुन् ।

सरकारसँग भएको सहमति कार्यान्वयनमा आएमा मिटरब्याजका कारण गुमेका सबै सम्पत्ति फिर्ता हुने र फर्जी कागजातका कारण प्रशासन तथा न्यायालयबाट झेल्नुपरेको कानुनी झमेलाबाट मुक्ति पाइने आशा पीडितहरूले व्यक्त गरेका छन् । मिटरब्याजलाई आर्थिक अपराधको रूपमा लिँदै यो कूप्रथाको पूर्ण उन्मूलन भएको घोषणा मन्त्रिपरिषद्बाट हुने सहमतिले पीडिमा आशा जगाएको छ ।

यो सहमतिले आपराधिक तथा दूषित मनसायले बनाइएका तमसुक, दृष्टि बन्धक, रजिष्ट्रेशन (छिनुवा) पास र बाध्यकारी चेकहरू स्वतः अवैध र खारेज हुने हुँदा न्याय पाउने आशा बढेको पीडितहरुले बताएका छन् । सरकारी टोली र पीडितबीच फर्जी लिखतहरू खारेज गर्दै मिटरब्याज उन्मूलनको घोषणा गर्ने, मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी ऐन लागू गर्ने, उच्चस्तरीय समन्वय समिति, जिल्लास्तरीय सहजीकरण समिति तथा अनुगमन तथा समीक्षा समिति गठन गर्नेलगायत मस्यौदासहित ९ बुँदे सहमति भएको थियो ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटा, कालीप्रसाद पराजुली, योगेन्द्रप्रसाद दुलाल, डा. भिष्मकुमार भुषाल र रोहवरमा रहेका ईश्वरी दत्त पनेरुले हस्ताक्षर गरेका छन् भने पीडित पक्षका वार्ता टोली संयोजक अवधेश कुशवाहासहित मनोजकुमार पासवान, रिजन रानामगर, किरण दमाई, लक्ष्मी घिमिरे र रोहबरमा निर्गराज जैशीले हस्ताक्षर गरेका छन् ।

गत असार २५ गते जनकपुरको तिरहुतिया गाछीबाट सुरु भएको पैदल यात्रा निजगढ सोमबार निजगढ आईपुगेको थियो । टोलीलाई निजगढबाटै फर्काउने गरी गृहमन्त्री सुधन गुरुङ आफैं निजगढ आएर मंगलबार र बुधबार वार्ता गरेका थिए । वार्तामा पीडितहरूले लिखित सहमतिको अडान राखेपछि गृहमन्त्रीकै पहलमा दुवै पक्षबाट वार्ता टोली गठन गरी काठमाडौँमा संवाद गर्ने सहमति भएको थियो ।

सहमतिसँगै आशा बोकेर घर फर्किएपनि पीडितहरु सचेत रहेको वार्ता टोलीकी सदस्य घिमिरले बताईन् । घिमिरेका अनुसार सरकारसँग भएको सहमति यदि कार्यान्वयनमा नआए गृहमन्त्री गुरुङसँग वार्ता भएको स्थल निजगढबाटै पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिँदै पीडितहरू फर्किएका छन् । यसअघि पनि दुई पटक पैदल यात्रा गरिसकेका पीडितहरू चौथो पटक सडकमा आउनु नपरोस् भन्ने कामना गर्दै घर फर्किएको घिमिरेले बताईन् ।

प्रतिक्रिया दिनुहोस्