पथलैयाबाट मालबाहक खाली ट्रक लिएर सहचालक फरार

सिमराः बाराको पथलैयाबाट आइतबार राति मालबाहक खाली ट्रक लिएर सहचालक बेपत्ता भएका छन् । राति पार्किङ गरेर राखिएको ना६ख १३५७ नम्बरको ट्रक लिएर सहचालक बेपत्ता भएका हुन् ।
उनी ट्रक लिएर कहाँ गए भन्ने सोमबार दिउँसो २ बजेसम्म खुलेको छैन । प्रहरीका अनुसार राति करिब ११ बजे सहचालकले पार्किङ गरेर राखिएको ठाउँबाट ट्रक लिएर निस्किएको सिसिटिभी फुटेजमा देखिन्छ । ट्रक लिएर कुन दिशातर्फ गएको भन्ने भिडियोमा प्रष्ट नदेखिएका कारण प्रहरीले विभिन्न स्थानको सिसिटिभी फुटेज जाँच गरिरहेको छ ।
उक्त ट्रक पथलैयाका स्थानीय सोम गुरुङको हो । ट्रकमा पथलैयाकै ३१ वर्षीय अनोज थापा चालक थिए । सहचालकलाई चाँबी थमाउँदै घर निस्किएका चालक सोमबार बिहान आउँदा ट्रक नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले सहचालकले जानकारी नदिई ट्रक लिएर गएको र हालसम्म फेला नपरेको बताए । उनले बेपत्ता पारिएको ट्रक र सहचालकको खोजी भईरहेको बताए ।







