खेत जोतिरहेको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु

सिमराः बाराको प्रसौनी गाउँपालिकामा सोमबार साँझ खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भई पोखरीमा पल्टिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा प्रसौनी गाउँपालिका-५ प्रस्टोकाका २८ वर्षीय तेजनारायण साहको मृत्यु भएको हो ।
प्रसौनी गाउँपालिका-७ बन्जरीस्थित खेतमा जोतिरहेका बेला ट्याक्टर अनियन्त्रित भई नजिकैको पोखरीमा पल्टिएको प्रहरीको भनाई छ । ना ७ त ४३८३ नम्बरको ट्याक्टर दुर्घटना भएलगत्तै साहलाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।







