पथलैयाबाट बेपत्ता पारिएको ट्रक चितवनको रामनगरमा भेटियो

सिमराः बाराको पथलैयाबाट आइतबार राति बेपत्ता पारिएको मालबाहक खाली ट्रक चितवनको रामनगरमा फेला परेको छ । पार्किङ स्थलबाट सहचालकले लिएर फरार भएको ना६ख १३५७ नम्बरको उक्त ट्रक सोमबार रामनगरमा फेला परेको हो ।
प्रहरीका अनुसार नारायण–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगर पानीटंकी नजिक ट्रक भेटिएको हो । ट्रकले मुग्लिनतर्फ जाँदै गरेको म.प्र.०३–००१ख ९५२१ नम्बरको यात्रुबसलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको र ठक्करपछि सहचालकले ट्रक छोडेर फरार भएको प्रहरीको भनाई छ ।
प्रहरी चौकी पथलैयाका वरिष्ठ प्रहरी नायब निरीक्षक युवराज दाहालले ट्रक अहिले सुरक्षित रहेको जानकारी दिए । सहचालकले राति करिब ११ बजे पार्किङस्थलबाटै ट्रक लिएर हिँडेको सीसीटीभी फुटेजमा देखिएपछि प्रहरीले खोजी गरिरहेको थियो ।
उक्त ट्रक पथलैयाका स्थानीय सोम गुरुङको हो । ट्रकमा पथलैयाका ३१ वर्षीय अनोज थापा चालक थिए भने अर्जुन नामका सहचालक थिए । राति ट्रक पार्किङ गरेर चाँबी सहचालकलाई थमाउँदै घर गएका चालक थापा बिहान फर्किदा ट्रक नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।
चालकका अनुसार सहचालक केही दिनअघि मात्रै ट्रकमा काम गर्न आएका थिए । भर्खरै आएका सहचालकको पूर्ण विवरण चालकसँग नहुँदा प्रहरीलाई खोजीमा समस्या भईरहेको थियो ।







