कलैयामा मिनि ट्रक घरमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

सिमरा: बाराको कलैया उपमहानगरपालिका-४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै सोमबार राति मिनी ट्रक अनियन्त्रित भई घरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकमा सवार जीतपुरसिमरा उपमहानगरपालिका-८ इमलीप्रतिका ४० वर्षीय शिवनारायण पासवान रहेका छन् ।
दुर्घटनामा सोही ठाउँका ५० वर्षीय देव नारायण चौधरी घाइते भएका छन् । उनको टाउको, दुवै हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै दुबै घाइतेलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारका क्रममा पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक अनियन्त्रित भई स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीले मिनी ट्रक चालक रौतहटको गुजरा नगरपालिका-९ सिमरा भवानीपुर बस्ने २७ वर्षीय राजुकुमार चौधरीलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबाट घरको एकतर्फको पर्खालमा क्षति पुगेको छ ।







