पर्सामा लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ


eShilalekh

६ श्रावण २०८३, बुधबार १४:१७

वीरगञ्जः पर्सा प्रहरीले वीरगञ्जबाट अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १२ मुरलीचोकका ७२ वर्षीय नारायण बहादुर केसी रहेका छन्।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका ११ श्रीपुरस्थित बहिरङ्ग विद्यालय अगाडिको सडकखण्डमा शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेको बेला उनलाई रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा उनको पाइन्टको दाहिने खल्तीबाट सेतो पारदर्शी प्लास्टिकको पोकाभित्र १५ वटा साना कागजका पुरिया फेला परेको प्रहरीले जनाएको छ। उक्त पुरियाहरूमा कागजसहित ४०.७४ ग्राम र कागज बाहेक २१.९१ ग्राम (२१ ग्राम ९१० मिलीग्राम) खैरो हिरोइन फेला परेको हो।

यसैगरी उनको बायाँ खल्तीबाट अवैध लागूऔषध ब्राउन सुगर को पुरानो कारोबारमा संलग्न जहिर मियाँ र ईम्तियाज मियाँलाई रु पाँच हजार मिलीग्राम उल्लेख भएको कागजको टुक्रा समेत बरामद गरिएको पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए।

बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्