बागमती पार्क निर्माणमा भ्रष्टाचार: पूर्वअर्थमन्त्री साहसहित सात जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

बागमतीः सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माण कार्यमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उक्त निर्माण परियोजनामा कुल ३९ करोड ३९ लाख रुपैयाँ बराबरको हानिनोक्सानी पुर्याइएको दाबी गर्दै आरोपितहरूको भूमिका अनुसार फरक-फरक बिगो र जरिवाना मागदाबी गरेको हो।
यस प्रकरणमा प्रदेश सरकारका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह र अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरमाथि ३५ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ भने मन्त्रालयका उपसचिव उद्धवराज न्यौपानेमाथि २० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।
त्यस्तै सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान र प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलमाथि ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पुर्याएको आरोप छ। ठेकेदार कम्पनी बिकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेल र सोही निर्माण कम्पनीलाई पनि सोही बराबरको ३९ करोड ३९ लाख रुपैयाँ बिगो र कारबाहीको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।







