बारामा सामाजिक सद्भाव कायम राख्न शनिबार सद्भाव र्याली निकालिने

सिमराः तराईका विभिन्न जिल्लाहरूमा सिर्जित प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै बारा जिल्लाभित्र आपसी सद्भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्न बृहत् सामाजिक सद्भाव र्यालीको आयोजना गरिने भएको छ ।
सम्पूर्ण समुदायबीच एकता र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले सदरमुकाम कलैया तथा निजगढमा र्याली आयोजना गर्न लागिएको हो ।
सदरमुकाम कलैयास्थित जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा श्रावण १६ गते शनिबार बिहान ८ः०० बजे प्रशासन कार्यालय परिसरबाट र्याली सुरु हुनेछ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार यस र्यालीलाई सन्देशमूलक, व्यापक र सफल बनाउन विभिन्न धार्मिक संघ–संस्थाका अगुवा, धर्मावलम्बी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज, सुरक्षा निकाय, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी लगायत आम सर्वसाधारणलाई उत्साहजनक सहभागिताका लागि हार्दिक अपिल गरिएको छ ।
यसैगरी तराईका विभिन्न जिल्लाहरूमा भइरहेको अशान्ति र सम्भावित तनावलाई रोक्न निजगढमा पनि शनिबार बिहानै प्रतिबद्धतासहितको सद्भाव र्याली निकालिने भएको छ ।

निजगढस्थित शहीदचोकमा शुक्रबार सम्पन्न सर्वदलीय र सर्वपक्षीय बैठकले उक्त र्याली निकाल्ने निर्णय गरेको हो ।
शान्ति र सामाजिक सौहार्दता कायम राख्ने उद्देश्यले दीपक सापकोटाको संयोजकत्वमा १५ सदस्यीय सद्भाव समूह गठन गरिएको छ । समूहमा तिलक घलान, सन्तोष दङ्गाल, सन्दीप भट्टराई, महेशी कुमर, केशव राउत, मोजहर मन्सुर, जुल्फकार आलम, शङ्कर थोकर, पेमा घ्याम्चो लामा, मोहम्मद शिद्धिकी, डेनिस थापा, केशर बोम्जन, प्रशान्त रौनियार, मोफिद शिद्धिकी र महेश्वर अधिकारी रहेका छन् ।
निजगढमा आयोजना हुने र्याली शनिबार बिहान ७ः०० बजे शहीद चोकबाट सुरु भई बुद्धचोक पुगेर कोणसभामा परिणत हुने सद्भाव समूहले जनाएको छ ।
र्यालीलाई प्रभावकारी बनाउन विभिन्न व्यक्तिहरूलाई जिम्मेवारी बाँडफाँड गरिएको छ भने उक्त कार्यक्रममा नागरिक समाज, हिन्दू, मुस्लिम, बौद्ध, र इसाई धर्मका धार्मिक अगुवाहरू, स्थानीय पेसा-व्यवसायी, विद्यार्थी तथा मजदुरहरूलगायत सम्पूर्ण नगरबासीलाई स्वतःस्फूर्त सहभागिताका लागि आह्वान गरिएको छ ।







