गृहमन्त्री गुरुङ र मृतक रविन्द्र मेहताको परिवारबीच अस्पतालमा वार्ता


eShilalekh

१९ श्रावण २०८३, मंगलवार १८:४०

सिमराः सुनसरीको देवानगञ्जमा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय रविन्द्र मेहताको उपचारका क्रममा निधन भएपछि गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारबीच वार्ता सुरु भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता भइरहेको छ ।

साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा दुई पक्षबीच भएको तनाव नियन्त्रण गर्ने क्रममा सुरक्षा निकायले चलाएको गोली लागेर देवानगञ्ज-१ का मेहता गम्भीर घाइते भएका थिए। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत मेहताको बिहान पौने ११ बजे मृत्यु भएको हो ।

घाइते मेहताको मृत्यु भएपछि आफन्त तथा स्थानीयले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र राहतको माग गर्दै गृहमन्त्री स्वयं उपस्थित नभएसम्म शव नबुझ्ने अडान लिएका थिए । पीडितको अडानपछि गृहमन्त्री गुरुङ आफैं शिक्षण अस्पताल पुगेर पीडित पक्षसँग छलफलमा जुटेका हुन्।

घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

यस घटनासँगै पछिल्लो समय कोशी र मधेस प्रदेशका विभिन्न स्थानमा भएका झडप तथा घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। यसअघि सुनसरीको देवानगञ्जमै ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिरहामा गणेश यादवको मृत्यु भइसकेको छ। सरकारले तीनै जनाका परिवारसँग शहीद घोषणा प्रक्रिया अघि बढाउने, १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउनेलगायत ७ बुँदे सहमति गरिसकेको छ।

सद्भाव कायम राख्न गृहमन्त्रालयमा धार्मिक गुरुहरूसँग छलफल

गृहमन्त्री सुधन गुरुङले मंगलबार गृह मन्त्रालयमा हिन्दु र मुस्लिम समुदायका नेता तथा धार्मिक गुरुहरूसँग छुट्टाछुट्टै छलफल र परामर्श गरेका थिए।

गृह मन्त्रालयका अनुसार मुलुकका विभिन्न क्षेत्रमा देखिएको पछिल्लो अशान्त वातावरण, आपसी सद्भावमा परेको असर र शान्तिसुरक्षाको विषयलाई लिएर दुवै समुदायका प्रतिनिधिहरूसँग गहन छलफल भएको हो । बैठकमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै शान्ति व्यवस्था चुस्त बनाउने विषयमा दुवै पक्षबाट प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्