सिरहाको गोलबजार घटना: अनुसन्धानपछि काठमाडौं फर्कियो शाही नेतृत्वको छानबिन टोली

सिरहा: सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा स्थानीय गणेश यादवको ज्यान गएपछि गठित उच्चस्तरीय छानबिन समितिले आफ्नो प्रारम्भिक अनुसन्धान तथा स्थलगत कार्य पूरा गरेको छ। गृह मन्त्रालयद्वारा गठित सहसचिव पुष्पराज शाही नेतृत्वको टोली तीन दिनसम्म सिरहामा रहेर तथ्य प्रमाण सङ्कलन, प्रत्यक्षदर्शी तथा सरोकारवालाहरूसँगको छलफलपछि काठमाडौं फर्किएको हो ।
गृह मन्त्रालयका उपसचिव एवम् समितिका सदस्यसचिव कुलशेखर अर्यालका अनुसार टोलीले सिरहामा रहँदा राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, स्थानीयवासी, प्रत्यक्षदर्शी तथा सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीसँग छुट्टाछुट्टै छलफल गरेको थियो।
सामाजिक सद्भाव कायम राख्न मुस्लिम समुदायका प्रतिनिधिहरूसँग पनि टोलीले छुट्टै परामर्श गरेको छ। आन्दोलनका क्रममा भएका भौतिक तथा व्यावसायिक क्षतिको अन्तिम विवरण भने जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनले सङ्कलन गरिरहेको जनाइएको छ।
अनुसन्धानका क्रममा टोलीले धरानस्थित अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे समेत जानकारी लिएको छ। चिकित्सकहरूका अनुसार घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र आगामी दुई-तीन दिनभित्र डिस्चार्ज गरिने तयारी छ।
गृह मन्त्रालयले तोकेको समयसीमाभित्रै निष्पक्ष प्रतिवेदन बुझाउने गरी काम भइरहेको सदस्यसचिव अर्यालले बताएका छन्। यसअघि गृहमन्त्री सुधन गुरुङले मृतक गणेश यादवको निवासमै पुगेर परिवारलाई भेट्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।







