रौतहटमा पेट्रोल ट्याङ्कर दुर्घटना: आगलागीबाट ट्याङ्कर जलेर नष्ट, चालक सुरक्षीत

सिमरा: पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धन्सार पुल नजिक बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना भई आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
बाराको अमलेखगञ्जबाट १२ हजार लिटर पेट्रोल लिएर सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर बिहान करिब ५:३० बजे सडक छेउमा दुर्घटना भएको हो । ट्याङ्कर पल्टिएलगत्तै आगलागी भएको प्रहरीले जनाएको छ ।
चालक दिएको प्रारम्भिक बयान अनुसार जंगलबाट अचानक निस्किएको मृगलाई जोगाउने क्रममा ट्याङ्कर अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनाबाट प्रेट्रोलसहितको ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भए पनि कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
घटनाको सूचना पाउनासाथ प्रहरी नायब उपरीक्षक थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरका इन्स्पेक्टर राजेन्द्र थापा मगरको नेतृत्वममा प्रहरी टोली घटनास्थल पुगेको थियो । चन्द्रपुर नगरपालिका, बाराको निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
प्रहरीले ट्याङ्कर चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका-११ का २५ वर्षीय समिर गुरुङलाई नियन्त्रणमा लिएको छ । आगलागीका कारण केही बेर अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ ।







