रौतहटमा बाढीको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु


eShilalekh

२२ श्रावण २०८३, शुक्रबार २०:५४

रौतहट: रौतहटको यमुनामाई गाउँपालिका-५ मा बाढीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। लालबकैया खोलामा आएको बाढी बमनहर भई बग्ने क्रममा सोही पानीमा डुबेर स्थानीय ६ वर्षीय बालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा यमुनामाई गाउँपालिका-५ का सरमूल मियाका ६ वर्षीय छोरा खुसी आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार बालक आलम आफ्ना साथीहरूसँग बमनहरमा बगिरहेको बाढीको पानीमा नुहाउन गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवारले अस्थायी प्रहरी पोस्ट बमनहरलाई मौखिक जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा वडा नम्बर ५ स्थित सातबम्बा सडकको कलभर्टबाट करिब २० फिट दक्षिण बगिरहेको नहरको पानीमा बालक घोप्टो परेको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्