सडक दुर्घटनामा ज्यान गुमाएका रौतहटका दम्पतीको एउटै चिहानमा अन्त्येष्टि


eShilalekh

३० श्रावण २०८३, शनिबार १४:०५

रौतहट: भारतको झारखण्डमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका रौतहटका एक दम्पतीको शनिबार एउटै चिहानमा अन्त्येष्टि गरिएको छ ।

रौतहटको गरुडा नगरपालिका ६ पोठियाहीबाट बोलबम यात्राका लागि भारतको बाबाधाम गएका तीर्थयात्री सवार बस शुक्रबार बिहान झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा स्थानीय ६५ वर्षीय नवलकिशोर चौधरी, उनकी ६२ वर्षीया श्रीमती सुन्दरकला देवी र सोही स्थानका राजेश महतोका १२ वर्षीय छोरा शिवम महतो गरी तीन जनाको मृत्यु भएको थियो ।

भारतमा पोस्टमार्टमको प्रक्रिया पूरा गरी मृतकका आफन्तले शनिबार बिहान करिब साढे आठ बजे शवहरू नेपाल ल्याएका थिए ।

नेपाल ल्याएलगत्तै दम्पतीको शव एउटै अर्थीमा राखेर घरबाट झाँझ खोलास्थित शिवनगर घाटमा एउटै चिहानमा अन्त्येष्टि गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए । अन्त्येष्टिस्थलमा सुरक्षाका लागि इलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी टोलीसमेत खटाईएको थियो ।

यसैबीच दुर्घटनामा ज्यान गुमाएका १२ वर्षीय बालक शिवम महतोको शव भने हाल प्रादेशिक अस्पताल गौरको शवगृहमा सुरक्षित राखिएको छ ।बालकका बुवा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेकाले उनी स्वदेश फर्किएपछि मात्रै अन्त्येष्टि गर्ने पारिवारिक तयारी रहेको प्रहरीले जनाएको छ ।

आइतबार ना-६-ख १५५४ नम्बरको बसमा करिब ४५ जना तीर्थयात्री पोठियाहीबाट बाबाधामतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्