रौतहटमा कलभर्टको पानीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

रौतहटः रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका ९ खापड टोलमा कलभर्टको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय शेख मेहबुल हककी ५ वर्षीया छोरी फातमा खातुन रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार शनिबार बिहान घरबाट निस्किएकी फातमा बाख्रा चराउने क्रममा कलभर्टको पर्खालबाट तल रहेको खाल्टोमा खसेकी थिइन् ।
कलभर्टमुनि जमेको पानीमा डुबेकी बालिकालाई स्थानीय बासिन्दाले तत्काल उद्धार गरी बाहिर निकाले पनि तबसम्म उनको मृत्यु भइसकेको थियो ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







